“सबै विद्यार्थी विद्यालयमा” तुलसीपुरका नगरप्रमुखले गरे शिक्षा सुधारको उद्घोष


तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे
३ वैशाख, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शिक्षा सरोकारवालाहरुलाई शिक्षा सुधारका लागि एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन् । उनले शिक्षा अभियान सुरुवात भएको सन्दर्भ पारेर सम्पूर्ण नगरबासीका नाममा अपिल गर्दै उपमहानगरले अगाडि सारेको ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नारालाई मुर्तता दिनका लागि सबैले विद्यार्थी भर्ना अभियानलाई सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘तुलसीपुरका हरेक बालबालिकालाई विद्यालयमा भर्ना गरेर गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि तुलसीपुर उपमहानगरपालिका सधै प्रतिबद्ध रहेको छ । यस क्षेत्रका हरेक व्यक्तिहरुले आफ्नो सामाजिक दायित्व अन्तर्गत विद्यालय उमेर पुगेका तर विद्यालय जानबाट बञ्चित रहेका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याएर भर्ना गर्नका लागि विशेष पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ नगरप्रमुख पाण्डद्वारा जारी अपिलमा उल्लेख गरिएको छ ।
तुलसीपुर उपमहानगरले शिक्षामा सुधार गर्नका लागि शिक्षक नपुगेका ठाउँमा यसै वर्षबाट टिचफर नेपालको सहयोगमा विषयगत शिक्षकको व्यवस्था गरेको उल्लेख गर्दै विकास र समृद्धिको आधार भएकाले शिक्षाको विकासमा सवैले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । प्राविधिक शिक्षाका माध्यमबाट विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि उपमहानगरले प्राविधिक शिक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुलाई १० लाख अनुदान दिने कुरा समेत उल्लेख गरिएको छ ।
यसै आर्थिक वर्षमा शिक्षाको अवस्था सुधारका लागि विभिन्न छलफल, गोष्ठी र प्रधानाध्यापकसँग कार्य सम्पादन सम्झौता गरेको उल्लेख गर्दै सामुदायिक विद्यालयको खस्कदो शैक्षिक अवस्था सुधारका लागि यसै शैक्षिक सत्रबाट प्रविधिको प्रयोग गरेर प्रभावकारी अनुगमन गर्ने कुरा समेत उल्लेख गरेका छन् ।
‘विद्यालयमा विद्यार्थी भर्ना गरेर मात्रै अभिभावक र विद्यालयको दायित्व पुरा नहुने भएकाले विद्यार्थीलाई निरन्तर टिकाइराख्नका लागि पनि पहल गर्न नगरप्रमुख पाण्डेले आग्रह गरेका छन् । शिक्षा क्षेत्रलाई वदल्नका लागि पहिलो कुरा विद्यालय उमेर पुगेका बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गर्नु पर्दछ र दोस्रो कुरा भर्ना भएका बालबालिकाहरुलाई विद्यालयमा कसरी टिकाइ राख्ने भन्ने कुरा महत्वपूर्ण हुने गर्दछ। विद्यालयमा विद्यार्थीलाई भर्ना गर्नका लागि अभिभावकलाई सचेतना प्रदान गर्नु आवश्यक छ भने विद्यार्थीलाई विद्यालयमा टिकाइराख्नका लागि विद्यालयको वातावरण वालवालिका अनुकुल गराउनु आवश्यक रहेको छ’ अपिलमा उल्लेख गरेको छ ।
सामुदायिक शिक्षा सुधारका लागि उपमहानगरपालिकाले सरोकारवालाको सहयोगमा यसै वर्षबाट नयाँ कामको सुरुवात गर्ने समेत उनले वताएका छन् । ‘सबै बालबालिका बिद्यालयमा’ भन्ने नारालाई सार्थकता दिनका लागि सबैलाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।